Wednesday, June 25, 2008

दुःखको स्मरण

दुःखको स्मरण दीर्घायु हुन्छ’-देश सुब्बा

“आजभन्दा त्रिचालिस वर्षअगाडि आमा तिलमति लिम्बूको कोखबाट धरानको पुतली लाइनमा मेरो जन्म भएको हो । म जन्मेको घर अद्यावधि छँदैछ । मैले एघार वर्षको उमेरदेखि पढ्न थालेको हुँ । विद्यालयको अन्तिम वर्षमा मैले लेख्न थालेको हुँ । मैले लेख्न थालेको पनि तेइस वर्ष बितेछ । विद्यालयमा लेखेको पुस्तक नौ वर्षपछि “दोषी कर्म” नामक उपन्यास २०५० सालमा प्रकाशित गरेँ । यस बीचमा मैले फुटकर लेखहरू लेखेँ । नेपालमा मैले त्यति लेख्न सकेको थिइनँ र सँगत पनि थिएन । यहीँ (हङकङ) आएर साथीहरूको सँगतमा बढी लेख्न थालेको छु । लाग्छ, लेखाइमा साथीहरूको सँगत उत्प्रेरक हुँदोरहेछ ।” आफ्नोबारेमा यति मात्र भन्न रुचाउने उपन्यासकार, कवि अनि चिन्तक देश सुव्बासँग केहीपल ‘गफ’ हाँक्न पाईएको थियो । ‘यो’ गफ ‘ती’ गफहरु जस्ता रहेनन्, ‘हातलागी’ यो निर्क्योल मिलेको भन्न भ्याईहालौँ । ‘ती गफ’जस्ता नलागेको ‘यो गफ’मा कवि सुव्बाको अगाडि ‘वौना’ उभिएको अनुभूत पनि अर्को ‘हातलागी’ हो मननशीलतामा, यो पनि ‘उद्धरण’ गरिहालौँ । हङकङमा ‘साहित्य’ भन्नुलाई देश सुव्बालाई ‘बाहेक पारेर’ भन्नुले ‘साहित्य भनिएको हो’ भन्ने पुस्टि नहुने यथार्थ बोक्ने आधारस्तम्भ बनेका देश सुव्बा कवितामा हृदयका अन्तरवेदनालाई कहिले शब्दहरुबाट ‘प्रयोगात्मक व्याख्या’ गर्दछन् भने कहिले शब्दहरुभित्र यसरी पार्छन कि ‘शब्दहरु नै सघन बन्न थाल्छन्’ र एउटा गरिनु पर्ने ‘व्याख्या’ बनाउँछन् कवितालाई ।
दशकौँको समयावधिमा हनेसा अर्थात् हङकङ नेपाली साहित्य भनेरै बाँच्ने व्यक्तित्व उनै देश सुव्बाका केही मत तथा विचारहरु यहाँ अब यसरी ……..
१) साहित्यकारमा, सामान्य व्यक्तिहरुमाभन्दा सम्वेदनशीलता ज्यादा हुन्छ भनिएको तथ्यलाई आधार मानेर प्रश्न सोध्नु पर्दा, एउटी युवतीले बैँसमा लोग्नेलाई भर्खरै कुनै दुर्घटनामा गुमाएपछिको उसको अपार वेदना तथा प्रलापको विषय र एउटा अति नै रमणीय शान्त र सुन्दर ठाउँको सौन्दर्यको सौरम्यको विषयमध्येमा कविता लेख्न तपाईँलाई भनियो भने तपाईँको कवित्वले तपाईँलाई कुन विषय रोज्नतर्फ उद्वेलित गर्दछ ?
तपाईले प्रकृति र जीवनको बारेमा प्रश्न हालेर कवितामा राख्न भन्नु भएको रहेछ । यो संवेदनशीलता र भावुकताको कुरा छ । कहिले मान्छे बढी संवेदनशील र कहिले बढी भावुक हुन्छ । सधैँ मान्छेको अवस्था एउटै रहन्छ भन्न सकिन्न । उसको साहित्यको संवेदनालाई जुन विषयले बढी समाउँछ, ऊ त्यसैको साहित्य गर्छ । म आफै भने प्रकृतिवादी कम र जीवनवादी बढी हुँ । कुनै फूल ओइलाएको देख्दाभन्दा, कुनै मान्छे दुःखी भएको देख्दा मलाई बढी छुन्छ । मैले गरेको साहित्यमा प्रकृति कम र जीवन बढी लाग्छ । सात्रेको भन्दा विपरीत मलाई मान्छेमा प्रकृति सापेक्षित लाग्छ । पूरा पृथ्वीको साहित्य नै प्रकृतिवादबाट जीवनवादतिर फर्किरहेको समयमा निश्चय पनि मेरो कविता जीवनतिर लेखिन सक्छ ।
२) साहित्य के हो ?
साहित्य मलाई जीवन लाग्छ, प्रकृति बोलिरहेको जीवन । साहित्यले जीवन बोल्नुपर्छ । यो जीवन प्रकृतिसँग सापेक्ष भएको हुनुपर्छ । साहित्य समयले गरेको कल्पना पनि हो । आजको समय र कल्पनाले जति परसम्म कल्पना फ्याँक्न सक्छ, यो पनि साहित्य हो । साहित्य मलाई समाजको दर्पणसम्म मात्र सीमित लाग्दैन । समाजको दर्पण त समुद्रको एक थोपा पानी मात्र लाग्छ ।
३) वर्तमान नेपाली साहित्यमा साहित्यको कुन धार चलिरहेको छ ? हङकङ बसाइको दर्जन वर्ष बिताइसकेका हङकङेली नेपाली साहित्यकारहरुको अस्तित्व रहेको अवस्थामा, तिनीहरुका सिर्जनशीलतामा आखिर कहिलेसम्म नेपालकै पृष्ठभूमि रहला ?
नेपाली साहित्यमा चलेको धारहरू पुराना भैसके, नेपाली साहित्यमा मात्र होइन विश्व साहित्यमा नै नयाँ धारहरूको निर्माण भैरहेका छन् । नेपाली साहित्यको जुनसुकै धारमा एकै किसिमका चरित्र, कथा वस्तु मिथहरू प्रयोग हुने गथ्र्यो एक समयमा । त्यसलाई नेपाली साहित्यमा मूलधारको साहित्य भनेर प्रचलित बनाइयो । नेपालमा ती भन्दा बेगल कथा, चरित्र, ‘मिथ’ हुँदाहुँदै प्रचलित साहित्यलाई मात्र राष्ट्रिय स्थान प्रदान गरियो । प्रचलित साहित्यको समूह ठूलो छ, जसले गर्दा जस्तो साहित्य लेखे पनि, ताली बनाउने गरिन्छ । तर दुःखको कुरा, जति नै ताली बजाए पनि पुरानो मान्यताहरूमा संकट उत्पन्न भएको हामीले देखिरहेका छौँ । कार्यक्रमहरूमा मान्यतागत विमतहरू पैदा हुन थालेका छन् । प्रचलित मान्यताले आफूलाई सधैँ अतिवादी मान्यतामा विकास गराउने मनोभावले यी संकटहरू पैदा भैरहेका हुन् । यो पक्ष नयाँ लेखकीय मान्यताहरूलाई अस्वीकार गर्न खोजिरहेका छन् । नयाँ लेखकहरूसँग विषय वस्तु नयाँ छ, प्रयोग नयाँ छ, आन्दोलन नयाँ छ । तर प्रचलित नेपाली साहित्यले यसलाई स्वीकार्न आनाकानी गरिरहेको छ । परिणाम स्वरूप नयाँनयाँ संकटहरू पैदा हुँदैछन् । यो संकट अरूको कारणले पैदा भएको होइन, आफ्नै कारणले हो । नवीन कुराको खोज विश्वभरि नै गर्न थालेको यसबेला नेपाली साहित्यमा पनि खोजिनुपर्छ अन्यथा स्थापित मान्यता, व्यक्तित्वहरू अल्पकालीन र सीमित वर्गका हुन जान्छन् । यसले राष्ट्रलाई ठूलो हानी गर्छ । यी कुराहरू सोच्नुपर्दछ । नयाँ नेपालको नयाँ संरचनामा ती कुराहरू अनिवार्य गरिनुपर्छ ।
४) हङकङमा साहित्यकारहरुको समाजकीय स्वरुप कस्तो देख्नुभएको छ ? यहाँ प्रवासमा अग्रज साहित्यकारको नजरले हेर्दै भन्नुस् त ?
हङकङको साहित्यले नै हङकङको नेपाली जनजीवन पहिचान गराउने हो । केही हदसम्म यो संभव पनि भएको छ, पूरै हुन सकिरहेको छैन । हाम्रो मष्तिस्कमा भएको बाल्यकालले हामीलाई हङकङको साहित्य गर्न स्वतन्त्र गरेको छैन एकातिर भने अर्कोतिर हङकङको नेपाली समाज, चिनियाँ समाजबारे यथेष्ट ज्ञान नहुँदा लेखनलाई असजिलो बनाएको छ, लाग्छ । तथापि प्रयासहरू भएका छन् । हङकङको साहित्यले प्रवासी नेपाली साहित्यमा अहम् भूमिका खेलेको छ भन्दा अतिशयोक्ति नहोला । फेरि हङकङमा स्थापना भएका नेपाली विद्यालयहरूले पनि उल्लेखनीय योगदान दिँदै आएका छन् । हामीभन्दा अगाडि पनि मान्छेहरूले साहित्य गरेका थिए हङकङमा । जुनबेला हङकङको माटोमा नेपालीले पाइला टेके, त्यहीँबेलादेखि यहाँ नेपाली साहित्य हुँदै आएको छ । हामीले संस्थागत प्रयास गरेकासम्म हौँ । संस्थागत प्रयासले हङकङको नेपाली समाजमा प्रभाव पारेको पनि सत्य हो । हामीले साहित्यका केही बिरुवाहरूलाई मलजल गर्‍यौँ । कति हुर्के कति बीचैमा तुहे । हामीभन्दा पछि पनि संस्थागत प्रयास, शिक्षागत प्रयास भैरहेका छन् । हङकङमा साहित्य गर्न रुचाउने मान्छेहरू धेरै छन् । उनीहरूलाई हङकङ नेपाली साहित्यको मूलधारमा ल्याउन बाँकी छ । समयले टाढा पुर्‍याएकोले विलम्ब भैरहेको छ ।
५) मानिसले जीवनको कुनैबेला विगत सम्झनु पर्ने भए, आफ्नो दुःखद वा सुखद, कुन क्षणलाई सम्झन चाहान्छ भन्ने ठान्नुहुन्छ ?
दुःखको संरचना नै स्मरणको मण्डलले बनेको छ । दुःखमा नै सुख निर्भर गर्दछ । सुखमा दुःख निर्भर गर्दैर्न, मेरो व्यक्तिगत बुझाइ । त्यसैले दुःखको स्मरण दीर्घायु हुन्छ । एक पटक पाएको दुःखले मस्तिष्कमा साम्राज्य गरेको हुन्छ । जसले गर्दा यसलाई सम्झिरहन्छ मान्छेले । सुखको आकार सानो हुन्छ । यो भैरहन्छ र क्षणिक हुन्छ । दुःखमा जस्तो सुखमा मैले विशिष्टता पाएको छुइन । त्यसैले मलाई लाग्छ, मान्छेले सुखभन्दा दुःख धेरै सम्झिरहन्छ ।
५) व्यवहारमा मानिसले अतीतलाई कहिलेसम्म च्यापेर भविष्य बुन्दै वर्तमान बाँच्दछन्, तपाईँको विचार ?
प्र्रत्येक भविष्यहरू अतीतका श्रंङ्खला हुन् । प्रत्येक वर्तमान अतीत र भविष्यको मध्यस्तकर्ता हो । वर्तमानले मध्यस्तता गर्न सकेन भने दुर्घटना हुन्छ । मान्छेले अतीतलाई लिएर बाँचे पनि भविष्यको एउटा बिन्दूमा पुग्दा, यात्रा मोडिसकेको हुन्छ । किनभने वर्तमानमा धेरै अवरोह, आरोह हुन्छन् । भविष्य वर्तमानको मुठीमा कैद हुन्छ । वर्तमानबाट प्रकट भएर भविष्य बन्दछ, त्यसैले यो परिणति भएको हो ।
६)परिवर्तन गर्न मिल्ने भए विगत, यसो भनौँ, फेरि दोहोर्‍याएर सच्याउन मिल्ने भए, तपाईँ विगतको कुन पाटोलाई सच्याउनुहुन्थ्यो ? विगतको पाटो तपाईँको व्यक्तिगत पनि हुन सक्छ, सार्वजनिक पनि हुनसक्छ ।
सच्याउनै पर्ने विगत मसित छ जस्तो लाग्दैन । दोहोर्‍याएर गर्ने मिल्ने भए, केही कुरा आमाको लागि गरौँला, लागेको थियो । मेरी आमा अझसम्म बाँचेकी भए केही इच्छा पूरा गर्ने थिएँ लाग्छ । बाँकी मसित त्यस्ता विगतहरू बितेका छैनन् जो सच्याउनु परोस् ।
७) अपमान शीर्षकको तपाईँको पुस्तक, के उपन्यास नै हो त ? औपन्यासिकताको अभाव खट्केको बारे यताउताबाट सुनिएको छ, त्यसैलाई विस्तृत गर्नुहोस् ।
साहित्य साँघुरो घेराबाट बाहिर निस्केको छ । साहित्य यस्तै हुनुपर्छ भन्ने अकाट्य नियमहरू रहेनन् अहिले । त्यस अर्थमा मलाई अपमान उपन्यास लाग्छ । म पाठकको लागिभन्दा पनि बढी समाजको लागि साहित्य गरिरहेको छु । मेरो समाजलाई अपमान उपन्यास नै लागेको पाएको छु । साहित्यको पाठकलाई अपमान उपन्यास नलाग्न सक्छ । स्वाभाविकै छ । परम्परावादी पाठकले तयार पारेको उपन्यासको ढाँचामा यो नगल्न सक्छ । यसको अर्को कारण के भने साहित्य समाजको लागि हो कि पाठकको लागि हो ? त्यसमा निर्भर गर्दछ । अनुभव उपन्यास, संस्मरण उपन्यासलगायत सामाजिक, जासुसी उपन्यास भनेर उपन्यासको थुप्रै प्रकार भएकोमा म पनि दस्तावेज उपन्यास पनि भन्न सक्थेँ । तर मैले त्यसो गरिन । मान्छेभित्र जहिले पनि मान्यताको एउटा सरल रेखा हुन्छ । त्यो बाङ्गोटिङ्गो भएको मान्छेले मन पराउँदैनन् । उसको सरल रेखाभन्दा वरपर भएछ भने त्यसलाई ऊ बाङ्गो भन्छ । तर हात्तीको कथाजस्तो विषय वस्तुको बुझाइ आ-आफ्नै हुन्छन् ।
८) तपाईँले भयको विस्तृतिको बारेमा ज्यादै लेख्नुभएको, बोल्नुभएको र पढाउनुभएको छ । हरेक कृया तथा जनजीवनको पद्धति भयद्वारा सञ्चालित हुन्छ भन्ने तर्क दिनुभएको छ (जसबारे सन् २००५को अप्रिल ०२ तारिखका दिन दोभान देउराली रेष्टुरेन्टमा त्यही वादमा आधारित रहेर हङकङका कथाकार राई चन्द्र दुमीले एउटा कथा लेख्ने भन्नुभएको तर नलेखेको आज यतिका समय बितिसकेको छ), त्यही वादअनुसार …लर्डाईँको मैदानमा सिपाहीँ मर्छु कि भन्ने भयले गर्दा क्रियाशील भई बाँच्नका लागि शत्रुहरुलाई मास्दै वा शत्रुबाट भाग्दै बाँच्ने प्रयत्न गर्दछ भनिएको थियो, अब भन्नुस्, भयले मान्छेलाई क्रियाशील बनाउँछ या बाँचूँ भन्ने लोभले ?
बुझाइ आ-आफ्नै हुन्छन्, मैले माथि हातीको कथा भनेजस्तो । मैले बुझेको भय र अरूले बुझेको भयमा फरक हुन सक्छ । मैले बुझेको कुम्भकर्ण हिमाल र अरूले बुझेको कुम्भकर्ण हिमालमा फरक हुन सक्छ । मैले बुझेको नेपाल र अरूले बुझेको नेपाल फरक हुन सक्छ । त्यस अर्थमा मलाई भयले मान्छेलाई क्रियाशील बनाउँछ लाग्नु अन्यथा नहोला । बाँचु भन्ने लोभ भयको सरल रेखाको कुनै बिन्दू हुन सक्छ । यही भनाइलाई नागार्जुन शून्य भन्थे, डेरिडा भिन्नता भन्थे र सात्रे अस्तित्व भने आइ.बी. राई लीला भन्थे होलान् । मपक्ष भयको प्रकट भनिरहेको छु । मपक्षको भयको कुरा गरिरहँदा शून्य, भिन्नता, अस्तित्व, लीला सबै निर्जीव लाग्छ । सोच्छु, भय कसरी सजीव हुँदोरहेछ ! सभ्यताको विकास, जातिको विकास र मान्छेको विकास भयको कारणले हुन्छ सकारात्मक पक्ष । यति सकारात्मक हुँदाहुँदै त्यहाँभित्र एउटा भय हुन्छ, त्यो नकारात्मक पक्ष । त्यही ऋणात्मक पक्षलाई धनात्मक बनाउने सोच, चिन्तन साहित्य हो भयवाद मपक्ष भन्छु । यसैलाई कसैले दुःखबाट सुख बनाउने भन्लान्, कसैले दुःखबाट मुक्ति दिने भन्लान्, कसैले सत्ता साझेदारीमा लैजालान् ।
९) प्रवासको जीवनमा खड्केको अनुभूति के छ तपाईँको साहित्यिक जीवनयापनमा ?
खासगरी हङकङको साहित्य विकासको निमित्त मलगायत केही साथीहरू मिलेर थुप्रै गर्‍यौँ, लाग्छ । चिनियाँ भाषाका साहित्यकारहरु, अँग्रेजी भाषाका साहित्यकारहरूसित पनि सम्बन्ध बनाउने प्रयास गर्‍यौँ । तर संभव भएन । यो हाम्रो प्रयासको अपूर्णता हो या हङकङको साहित्यिक संसारको । एकातिर यो समस्या रहिरहँदा अर्कोतर्फ साहित्यिक लेखनमा पनि हङकङलाई भनेजस्तो लेख्न सकिएन । लाग्छ, मान्छेले आफ्नो मौलिक भाषा, आफ्नो ठाउँ र देशको बारेमा जति लेख्छ, उति नयाँ ठाउँ, भाषाको लेख्न नसकिँदो रहेछ ।
१०) अन्त्यमा, नेपाल डट यचकेलाई सुझाव के दिनुहुन्छ ?
मेरा आफ्ना कुराहरू राख्ने अवसर दिएकोमा नेपाल डट एच केलाई धन्यवाद दिन चाहान्छु । यस वेव साइटले संप्रेषण गरिरहेको समाचार, लेख, साहित्य प्रशँसनीय छ नै । भविष्यमा पनि अझै गर्दै जान सकोस् । अहिले नेपालको राजनीतिमा मात्र होइन, समाजमा, साहित्यमा, सँगीत, कलामा जताततै गुटउपगुट पैदा भएका छन् । यसको प्रमुख कारण कसैले माने पनि नमाने पनि नेपालको एकलवादी नीति, एकल भाषा, एकल जातिको प्रभुत्व नै हो । यी कुरा साम्राज्यवादी जस्तो नेपालमा चारैतिर छाएको छ । यसले देशलाई आजको अवस्थामा ल्याई पुर्‍याएको सत्यलाई तपाईहरूले पनि मनन गर्नै पर्छ । पाठक साहित्यकार सबैले मनन गर्नै पर्छ । यो नेपालको ध्रुव सत्य हो । सचेत वर्गले यसलाई सचेत ढंगबाट हेर्नुपर्छ । दूधको दूध पानीको पानी । साहित्यकार, पाठक सबैलाई यसको सन्देश दिन सके सबैलाई राम्रो हुन्छ । वस्, त्यसमा तपाईहरूको ध्यान जान सकोस् । मेरो शुभकामना । यही नै संसारको विशिष्टता हो । धन्यवाद ।

No comments: