Wednesday, June 25, 2008

जीवन भयबाट निर्देशित छ

जीवनलाई भयले निर्देशित गरेको छ

१. के हो भयबाद -
भयवाद मार्क्सवाद, अस्तित्ववाद, शून्यवाद जस्तै एउटा विचार हो । फरक यति हो यसमा प्रधानता भयको व्याख्या छ । किनभने जीवन भयबाट निर्देशित भैरहेको हुन्छ । मान्छेका साँझदेखि बिहानसम्मका प्रत्येक गतिविधिमा भय छायाँजस्तै घुमिरहेको हुन्छ । चेतना र भयवादको बीचमा चेतनाका दुइ तह छन् । भयबाट निस्किने सबै बाटाहरू नै भयवाद हो । यसको सुत्र यसरी बन्दछ-जीवन-चेतना-ज्ञान-भय-भयवाद । व्याख्याः प्रत्येक जीवन भएको वस्तुको चेतना हुन्छ, चेतनाको मात्रा अनुसार वस्तु, विषयको ज्ञान हुन्छ, ज्ञान अनुसार भय हुन्छ । यहाँ भयबाट निस्किन विभिन्न बाटाहरू अवलम्बन गरिन्छ । यो नै भयवाद हो ।
२. तपाईको पछिल्लो उपन्यास आदिवासी लेख्ने सोच कसरी आयो -
भयवादको प्रयोग बनाउनु नै थियो । साहित्यकारहरूबाट यो आग्रह आइसकेको थियो । आदिवासी समालोचना, भयवादिय समालोचना र आदिबासी समाजलाई वैचारिक आन्दोलन दिन पठ्य सामाग्रीको आवश्यकता थियो । अपमान एउटाले मात्र यो जिम्मेवारी थेग्न सकेको थिएन । त्यसैले जतिसक्दो धेरै सामाग्री बनाउन आदिवासी आएको हो । यो समयको माग पनि हो । अर्को अर्थमा भयवाद थपेर यो अपमान उपन्यासको निरन्तरता पनि हो । अपमान उपन्यास नेपालको जातजातीहरूको वास्तविक चित्रण हो । अहिलेको नेपालको राजनीतिले अपमानमा उल्लेख भएको विभिन्न जातजाती र सिङ्गो नेपालको समस्याहरूको समाधानको संकेत दिन खोजेको छ । आदिवासी उपन्यास नयाँ नेपालको परिकल्पनामा आदिवासी जातजातीले गर्नुपर्ने भूमिकाको आग्रह हो । वर्षौदेखि नेपालमा आदिवासी समस्या छ । ती समस्याहरूसित यसको सम्बन्ध छ । भाषा, लिपि, धर्मसँस्कृति, इतिहास, पुरातत्वले नै आदिवासी जनजातिलाई स्थायी रूपमा मजबूत बनाउँछ । राजनीति आन्दोलनको एउटा माध्यम मात्र हो । यो अस्थायी प्रकृतिको हुन्छ । साहित्यले बचाएको जातिहरू हजारौँ वर्षेखि अझै बाँचिरहेका छन् । यसैले आदिवासी लेख्ने सोच बनाएको हुँ ।
३. आदिवासी उपन्यासको प्रमुख विशेषता के हो -
यो एउटै उपन्यासलाई धेरै ढंगबाट पढ्न सकिने विनिर्माण वा केन्द्रहिनता भएको उत्तरआधुनिक उपन्यास हो । यसमा भयवाद, आदिवासी, किराती, नेपाली र लिम्बू उपन्यास पढ्न सकिन्छ ।
४. भयबादमा आधारित आदिवासी उपन्यासमा भयदर्शनलाई कसरी व्याख्या गर्नुभएको छ -
यस उपन्यासमा मान्छेको प्रतिनिधि पात्र-निसाम् छन् । ऊ जीवन हो । ऊसँग चेतना छ । चेतनाको रोग, समस्या, मृत्यु, चिन्ता, दुःख, कष्ट, शंका, भ्रम, षडयन्त्र, आफन्त, सम्पत्ति, आँधीहुरी, चटयाङ् र प्रकृति जस्ता मानवीय वस्तुहरूसित दर्ुघटना हुन्छ र त्यसको बारेमा ज्ञानको प्रकट हुन्छ । ज्ञान भएको वस्तुको बारेमा धेरै वा कम भय हुन्छ । चेतना, सहने क्षमता अनुसार यो फरक हुन्छ । त्यही भयबाट निस्किन चेतनशील प्राणीहरूले आफ्नो ज्ञान, विवेक, क्षमता अनुसार विभिन्न विधि, प्रविधि, बाटाहरू उपयोग गर्छन् । जस्तै प्रेसर भएको मान्छेले नुन, तेल, मासुमाँस कम खान थाल्छ भने डायविटिज भएको मान्छेले चिनी र चिनी भएको वस्तुमा नियन्त्रण गर्न गर्दछ । रोग थाहा नपाइन्जेल रोगीलाई भय हुँदैन । उपन्यासमा निसाम्लाई मृत्युको बारेमा ज्ञानभएपछि त्यसबाट निस्किने विभिन्न उपाय खोजेको छ । उसले वनजंगल, पहार्डपर्वत, देशविदेश सबैतिर यायावर गरेको छ । तर अन्तिममा त्यसको निदान आदिम रूखको माध्यमबाट आफैभित्रबाट ज्ञान प्राप्त गरेको छ । यहाँ जीवन-चेतना-ज्ञान-भय-भयवाद भएको छ ।
५. प्रवास हङकङमा हुनुहुन्छ । हङकङको नेपाली साहित्यको अवस्था कस्तो छ -
हङकङको नेपाली साहित्यले संख्या र बर्साईँ अवधिको अनुपातमा डायास्पोरी नेपाली साहित्यमा अग्रनी स्थान ओगटेको छ भन्दा अन्य अर्थ नलाग्ला । यहाँ संख्या पाँचको हाराहारीमा साहित्यक संख्याहरू छन् । पचासौँको संख्यामा पुस्तक, सामाजिक संस्थाहरूका मुखपत्र निस्किरहेका छन । साप्ताहिक रूपमा एभरेष्ट र सनराइज पत्रिका निस्किरहेको छ । यसको साथै मैले थाहा पाए अनुसार वेब साइडहरू
http://www.fearism.blogspot.com/ http://www.limbuwan.blogspot.com%20www.hknepal.com/ http://www.alopalo.com/ www.kavitakusum.blogspot.com http://www.shrijana.com/ www.khotang.org www.sunriseweekly.com आइसकेका छन् भने कति आउने क्रममा छन् । यी सबैले नेपाली साहित्यलाई स्थान दिइरहेका छन् ।
गत वर्षमात्रै नेपालका चर्चित कवि श्रवण मुकारुङको स-शुल्क एकल कविता वाचन भयो । नेपाल बाहिर स-शुल्क कवितावाचन भएको यो नै पहिलो हो । त्यस्तै सन २००२ मा नेपाली साहित्य प्रतिष्ठान हङकङले नेपाल प्रज्ञा प्रतिष्ठानका तत्कालिन उपकुलपति मोहन कोइराला र नेपाल टेलिभिजनका तत्कालिन महाप्रबन्धक दर्ुगानाथ शर्मालाई हङकङमा झिकाएर तेस्रो वाषिर्क कविता गोष्ठी सम्पन्न गरेको थियो । यो लगायत "भयवाद" साहित्यिक र वैचारिक आन्दोलन नेपाल, भारत पछि सशक्त रूपमा हङकङबाट भएको छ । बाइसजना कथाकारहरूको संग्रह "यथार्थका चोइटाहरू" र बाह्रजना कविहरूको संयुक्त कविता संग्रह "हङकङमा कविता" प्रकाशित भैसकेको छ । कवितामा नयाँ प्रयोगहरू हङकङबाट भएका छन् । गीतहरू प्रशस्तै लेखिन थालेका छन् । यसरी यहाँबाट उपन्यास, कथा, कविता, गीत, गजलका कृतिहरू धमाधम प्रकाशित भैरहेका छन् । कतिपय सरकारी विद्यालयहरूमा नेपाली भाषा, साहित्यको पठनपाठन हुन थालेको छ । साहित्यिक प्रतिभाहरूलाई प्रोत्साहित गर्न धमाधम पुरस्कारहरू स्थापना हुँदैछ । निरन्तर कविता गोष्ठी, साहित्यिक गोष्ठीहरू हुँदैछन् । यसले हङकङको साहित्यलाई मलजल गरिरहेको छ । समग्रमा हङकङमा नेपाली साहित्यको अवस्था राम्रै छ ।
६ तपाईको आगामी योजना -

मैले थालेको साहित्यको धार नश्लवाद र भयवाद नै हो । यी वादहरूको विकासको लागि निरन्तर लागिरहेको छु । नश्लवादमा निरन्तर साहित्य आउन थालेको छ । भयवादमा त्यति साहित्य बनेको छैन । त्यसैले भयवादको व्याख्या, विश्लेषण र साहित्य बनाउँदै लैजाने योजना छ र यस वादलाई अगाडि बढाउन यस विचारलाई सहयोग पुर्‍याउने समूहहरू बनाउँदै लैजानु छ । नेपाली साहित्यमा मात्र नभएर अंग्रेजीम पनि लैजानु छ। सजिलोको लागि अहिले http://www.fearism.blogspot.com/ साथीहरूसँग मिलेर बनाइरहेका छौँ । यही वेब साइडलाई भयवादिय सूचनाको केन्द्र बनाउने विचार गरिरहेको छु । भयवाद सम्बन्धी प्रयोगहरू, लेखहरू, विचार, समिक्षा सबै यसै केन्द्रमा राख्ने विचार गरिरहेको छु । यसले भयवादबारे बुझन, अनुसन्धान गर्न, थेसिस लेख्न सजिलो पर्ने छ ।

No comments: