Monday, October 20, 2008

समयका पदचिन्हरू

अशोक
राई, हङकङ

म पिकस्थित
कुनै एउटा स्थानमा छु
टाइफन नम्बर एक
सूचना जारी गरिएको छ
बाहिर बेतोडको हावा बाच्छिटे पानी उडाउँदै
सनैः सनैः आवाज दिइरहेछ
लाग्छ
यो कुनै ड्राकुला वस्ती हो
एउटा-एउटा पाना
पुरानो जीवनको स्मृति
मानस्पटलभरि छाउँछ
इस्तैयस्तै चिसो हावा
मनसिरिङ्ग हुने गरी
हाम्रो घरभित्र पस्दा
उहिले नै
मेरो आमाले भन्नु भएथ्यो
"लोदोर है लोदोर !"
नभन्दै तीन दिनपछि
दिदी खस्नुभएको खबर आयो

बसबाट ओर्लेर
कामसम्म पुग्न
लम्किन्दै गर्दा
बिनाबस्तीको जंगलभित्र
कस्तोकस्तो चराको आवाज
मानौँ थुबिक्मा चरी कराउँदै छ
बैनी बिरामी हुँदा
बारीमा थुबिक्मा चरी कराएथ्यो
मनभरि अज्ञात डर
थुब्बिउ ......थुब्बिउ......
आवाजको पछि दौडेको सम्झना
बहिनी खसेपछि
त्यो चरा कहिल्यै फर्केर आएन

समुद्रको छालहरू
अनौठो संगीत
समुद्र आफैलाई नियन्त्रण गर्न सकिरहेको छैन
पारिपट्टि एउटा सहर
बत्तीको झिलिमिलीभित्र
खै के के गर्दैछ
त्यसैको दायाँ पट्टि
अँध्यारोमा एउटा रहस्यमय पहाड
निदाइरहेको छ
समुद्र नाघेर
त्यतातिर लम्कौँ लाग्छ
कुनै समय औसीको रात नाघेर बेपर्वाह
चट्टानी बाटो हुँदै
सिस्नो कुल्चदै
न्यानो भेटको कल्पनामा
मायालु भेट्न गएको यादमा

क्षितिज ताकेर लम्किएको एउटा जहाज
रातको अन्धकारमा
जूनकीरी आँखाहरू बाल्दै
अरिमठ्ठे कीराजस्तो
थाकेको गोरुजस्तो
त्यसभित्र
देशदेशान्तरका मानवप्राणीहरू
महिनौँ घर पुग्न नपाएका सामुद्रिक तिक्तताहरू
सुनामी र टर्नेडोका त्रासहरू
चुरोटका धूँवासित उडाइरहेका होलान्
रक्सीका चुस्कीसित निलिरहेका होलान्
चुइगमसित चपाउँदै होलान्
जिउनुको यात्रामा
जिजिविषाको दौरानमा
रातभर धुम्धुम्ती
समय गन्ने
मस्तै प्राणीहरू

No comments: