Wednesday, October 8, 2008

साहित्यमा भय विमर्श

हाङयुग अज्ञात
महान् दार्शनिक थोमस होब्स जन्मेको दिन अप्रिल ५, १५८८ मा स्पेनले बेलायतमाथि युद्घ सुरु गरेको थियो र यो भयानक युद्घले वेलायतमा एक महिनासम्म आतङ्क मच्चायो । पछि होब्स र उनका प्रशंसकहरूले यस संयोगलाई खूब ठट्टाको विषय बनाए । होब्स गफिन्थे- मेरो आमा यत्ति भययुक्त हुनुभयो कि उहाँले जुम्ल्याहा जन्माउनुभयो, यौटा मलाई र अर्को मसितै टाँसिएको भयलाई । होब्सले आफ्नो दार्शनिक जीवनमा राजनीतिक भयका बारे अधिकतम चिन्तन गरे । उनले लेखे- महान् र
दीर्घकालीन समाजहरूको मौलिकता मान्छेहरूको एक-अर्कातर्फो साझा र असल अभिलाषाले होइन तर उनीहरूमा भएको एक-अर्काबाटको भयले निर्माण भएको हो । बाइबलको सुरुआत पनि तेही भयद्वारा भएको विश्लेषण गर्छन् भयवादी राजनीतिशास्त्री कोरे रोबिन । उनी लेख्छन्(बाइबलको पात्रले अनुभव गरेको उद्वेगमा भय नै प्रथम हो । इच्छा होइन, लज्जा होइन तर भय । आदमले रूखबाट -वर्जित फल) खान्छ, आफूलाई नाङ्गो पाउँछ ईश्वरबाट लुक्छ, स्वीकार्दै म भयभीत भएँ किनभने म नाङ्गो थिएँ । तर, अर्का दार्शनिक ए.सी. ग्रेलिङ भयका विषयमा भन्छन्( प्रभावकारी गतिविधिलाई जड गराउनुका साथसाथै भय धेरै सामाजिक बिरामीहरूको स्रोत हो । गीताबाट सिद्घान्तकार ईश्वरवल्लभज्यूले नेपाली साहित्यमा अवतार अवतरणको सिद्घान्त ल्याउनुभएको छ( ज्ञान अवतार फेर्दै आइरहेछ । अघिल्लो पुस्ताबाट पछिल्लो पुस्तामा सर्दैसर्दै आइरहेछ मीमांशाको वंशाणु । इन्द्रबहादुर राईज्यूले कठपुतलीको मनमा लीला लेखनगत आधारबारे लेख्नुभएको छ( ...चामे अवतारचरित्र छ । ... सांसारिक र परसांसारिक योगले अवतारहरूको लीला छ । गीतामा श्रीकृष्ण भन्छन्( यो अविनाशी योग-ज्ञान) मैले विवस्वान्लाई बताएको थिएँ, विवस्वान्ले मनुलाई बताएको थियो र मनुले इक्ष्वाकुलाई बताएको थियो । जुलिया क्रिस्टिभाहरूले भनेको पाठ्यपारस्परिकता पनि यही अवतारसिद्घान्त नै हो कि जस्तो लाग्छ । कारण केही धारणागत आधारहरू मिलेका देखिन्छन् । ग्राहम एलेन भन्छन्(साहित्य-कार्य आखिरमा पौर्विक साहित्य-कार्यले स्थापना गरेका व्यवस्था, संहिता र परम्पराद्वारा निर्मित हुन्छ । तेसो र हामीलाई अघिका साहित्य-कार्यहरू हेर्नु जरुरी हुन्छ । पाश्चात्य साहित्य तथा दर्शन परम्परा नहेरी तेस्रो आयाम केलाउनु अप्ठेरो पर्छ । लीला लेखन थाहा पाउन तेस्रो आयाम नहेरी हुँदैन । भन्नुको तात्पर्य के भने अघिका साहित्य-कार्यबाट सूचना या ज्ञान सङ्कलन गरी अहिलेको साहित्य-कार्य निर्माण गर्ने धारणा अवतारसिद्घान्तकै समरूप छन् कि लाग्छ । तेसैले पाठ्यपारस्परिकता अथवा अवतारअवतरणको यो सिद्घान्त गीताबाट संस्करित हो भने पनि भयो या बाइबल,कुरान या बौर्द्घधर्मदर्शनबाट सापट मागिएको हो भने पनि भयो । यसो होइन भने मुन्धुमलाई जिम्मा दिए पनि भयो । यी सप्पै संज्ञानहरूसित जुनसुकै सिद्घान्त या मान्यताहरूको कहीँ न कहीँ, केही न केही सम्बन्ध हुन्छ, हुँदोरहेछ । तेसो र देश सुब्बाले नेपाली साहित्यमा अघि सार्नुभएको भयवादलाई पाश्चात्य तथा पूर्वीय साहित्य तथा दर्शनशास्त्रबाट सहयोग प्राप्त छ, अभिमत प्राप्त छ । मनोवैज्ञानिक समालोचना अर्न्तर्गत अभिघात सिद्घान्त (trauma theory)ले भन्दछ (विगतको पीडादायी अनुभव जसले मानसिक रूपले नै हामीमा भय उत्पन्न गराउँछ । देश सुब्बाको आदिवासी उपन्यासलाई यो ट्राउमाको सम्बलमा व्याख्या गर्दा पनि हुन्छ । उपन्यासको प्रमुख पात्र यस्तै कुनै विगतको पीडादायी अनुभवले भयभीत छन् अथवा एकप्रकारको विक्षिप्ततामा छन् अथवा विचलित छन् । नायक आफ्नो विगत सम्झिन्छन्- एकदिन अचानक बिरामी भएँ विचित्रको लक्षणसहित । क्षणक्षणमा अचेत हुने । व्यथाले चेपेपछि विभिन्न आवाज निकालेर कराउने र बर्बराउने गर्न थालेछु । कहिले रुने, कहिले कराउने, कहिले उप्रिने, कहिले कुद्ने, कहिले थर्थरी काम्ने हुन थालेछु । व्यथाले समाइन्जेल होस नहुने, केके क्रियाकलाप गरेँ भनेर अरूले बताइदिनुपर्ने । सत्यहाङमा या फाल्गुनन्दको बाल्यकालमा यस्तै प्रकारको मानसिक विचलन देखापरेको थियो भन्ने कथा हालिएको छ । मनोविश्लेषणलाई आधार मान्दा मानिसमा देखापर्ने यस प्रकारको विक्षिप्तता भयका कारण हो । भय जेको पनि हुनसक्दछ, मृत्युको भय तर सप्पैभन्दा जेठो हो । कसै-कसैलाई जीवनको भय पनि हुन्छ । अर्ल्बर्ट कामु भन्छन्- आत्महत्या गर्नेहरूमा जीवनको भय हुन्छ । यो रहस्य थाहा पाएर नै विश्वका आतङ्कवादी समूहहरूले आत्मघाती मानवबमहरूको निर्माण गरिरहेका छन् । मानवबमका रूपमा प्रयोग हुने मानवमा जीवनप्रतिको भय या निराशा जगाएर मृत्युको सार्थकतालाई दर्शन बनाइरहेका छन् उनीहरूले । हामी देख्छौँ कसैले जीउभरि बम बाँधेर मानिसहरूको भीडमा आफैलाई पड्काउँछ । हामी त्यो बारुदमा पड्किने मानिसलाई भयमुक्त देख्छौँ तर खासमा त्यो मानिस अत्यन्तै भयभीत हुन्छ । भयभीत हुन्छ तर जीवनदेखि । देश सुब्बाको भयवादले यी सारा कुराहरूलाई विमर्शको थलोमा ल्याइदिएको छ । पाइड, नित्से, सार्त्र, कामुलगायत अन्य कति-कतिलाई सम्झिनुपर्ने भएको छ । यतैतिरका शास्त्रहरूलाई पनि पल्टाउनुपर्ने भएको छ । कुरुक्षेत्रमा जब अर्जुन आफ्नै गुरुजन र वंशजहरू, मित्र र इष्टहरूको अगाडि युद्घका निम्ति खडा हुन्छन् तब अचानक उसको मनमा विषाद जाग्छ । यो विषादले उनलाई युद्घबाट हट्न अभिप्रेरित गर्दछ । श्रीकृष्णले यो थाहा पाएपछि अर्जुनको मनोबल बढाउन लामो उपदेश दिन्छन् अथवा अर्जुनको मनमा उत्पन्न प्रश्नहरूको समाधान गरिदिन्छन् । आफ्नो गुरुजन र वंशजहरू, मित्र र इष्टहरूलाई युद्घका क्रममा मार्दा या घाइते बनाउँदा पाप लाग्ने हो कि भन्ने सन्देह अर्जुनको मनको प्रथम विषाद थियो । उनलाई यो विषादबाट विमुक्त गर्छन् श्रीकृष्णले र महाभारतको युद्घ सुरु हुन्छ । वास्तवमा अर्जुनको विषाद भय हो । पाप लाग्छ कि भन्ने भय अथवा आफू मारिन्छु कि भन्ने भय अथवा युद्घ हार्छु कि भन्ने भय । किनभने अर्जुनका विरुद्घमा द्रोणाचार्य, भीष्म पितामह र कर्ण् जस्ताद्भूत योद्घाहरू थिए । यस्तो परिस्थितिमा भय जाग्नु स्वाभाविक हो । तेसो र श्रीकृष्ण भन्छन्( भयाद्रणादुपरतं मंस्यन्ते त्वां महारथाः । येषां च त्वं बहुमतो भूत्वा यास्यसि लाघवम् ।। -भगवद्गीता- डा.र्सर्वेपल्लि राधाकृष्णन्)
अर्थात् यी महान् योद्घाहरूले सोच्नेछन् तिमी भयका कारण युद्घदेखि विमुख हुँदैछौ र तिमीलाई अति आदर गर्नेहरूले पनि तिमीलाई तुच्छ सोच्नेछन् । गीता अर्जुनको भय या विषादलाई श्रीकृष्णले निर्मूल गर्न खोज्दा जन्मेको हो । अतः गीतालाई भयगत गीता भन्दा पनि हुन्छ । महाभारतको युद्घको गर्जन संसारमा अहिलेसम्म सुनिदैछ । फरक यत्ति मात्रै हो कि तरबारहरूको खन्खनाहटको ठाउँमा बन्दुक र राइफलहरू गर्जिदैछन्, अर्ग्यानिक काँडहरू हिँड्ने बतास बम र क्षेप्यास्त्रहरूको विस्फोटनले अमिलो भएको छ । श्रीकृष्णको सर्वोच्च ठाउँमा जर्ज डब्लु. बुस मुस्कुराइरहेछ । कुरुक्षेत्रमा सञ्जयले देख्यो- धनुकाँड श्रीकृष्ण चलाइरहेछन् । तेसैगरी आज संसारभरिका युद्घहरूमा अमेरिका गोली बर्सिरहेको छ । तर, यता अर्जुनहरू विषादले व्याकुल छन् । उसका हातबाट गुरुजनहरू मारिँदैछन्, आफन्तहरूको रगत बग्दैछ, इष्टमित्रहरू एम्बुसमा चुँडिदैछन् । भय व्याप्त छ संसारमा आज पनि । देश सुब्बाको भयवादले इङ्गीत गर्नु खोजेको भयलाई यसरी बुझ्दा पनि हुनेरहेछ । सायद यसप्रकार भयवादलाई समष्टिमा बुझ्दा वेश होला । हाम्रो मुलुकको सन्दर्भमा युद्घका भयप्रद यस्ता बिम्ब र प्रतीकहरूले त झन् हामीलाई विषादको इनारभित्र धकेलिदिन्छ जहाँ हामी तिलजत्रो उज्यालोमा खोज्दैछौँ आफ्ना सम्बन्धीहरू जसलाई हामी स्वय क्षत्विक्षत् पारेर कहीँ-कतै बगरतिर, कहीँ-कतै जङ्गलतिर, कहीँ-कतै सडकतिर, कहीँ-कतै चौरतिर मिल्क्याएका थियौँ । श्रीकृष्णले भयभीत अर्जुनलाई भयमुक्त गर्न भन्छन्- यदि तिमी युद्घमा मारियौ भने
स्वर्ग पुग्नेछौ, यदि तिमीले युद्घ जित्यौ भने पृथ्वीको उपभोग गर्नेछौ । तेसकारण तिमी लड्नलाई अठोट गर्दै उठ । सुख र दुःख, लाभ र हानी, हार र जित-लाई समान सम्झँदै युद्घका निम्ति तयार होऊ, तब तिमीलाई पाप लाग्ने छैन । धर्मशास्त्रहरूले उद्बोधन गर्ने सप्पैभन्दा ठूलो भय पाप हो, नरक हो । यसरी गीता पनि भयमा आधारित छ ।
लिम्बू मुन्धुममा मानवउत्पत्तिको आफ्नै कथा छ । तिगेनजोङनाका दुइ छोराहरूमा एकजना मान्छे -नाम्सामी) र अर्को बाघ -केसामी) हुन्छ । हुर्केपछि बाघले मान्छेलाई खान खोज्छ तर आमा तिगेनजोङनाले जुक्ति लगाई मान्छेलाई बाघबाट जोगाउँछिन् । बाघ औलतिर गएको बखत मान्छेलाई लेकतिर पठाउँछिन् । मान्छे औलतिर गएको बखत बाघलाई लेकतिर पठाउँछिन् । यो बाघ र मान्छेबीचको लुकामारी या भयको खेल निक्कै वर्षम्म चलिरहन्छ । तर, एकदिन जब बाघले आमालाई नै खान खोज्छ तब तिगेनजोङनाले मान्छेको साथ दिन्छिन् र बाघ मान्छेबाट मारिन्छ । यो मुन्धुमको कथामा मानव उत्पत्ति र सभ्यताको विकास मात्रै छैन ज्ञान र विज्ञानका विविध पक्षहरू मिहिन ढङ्गबाट बुनिएका छन् । जनयुद्घका क्रममा जब मान्छेहरू बाघको चरित्रमा उत्रिएर मान्छेलाई समाप्त पार्ने खेलमा होमिए तब यौटा गजबको खेल देख्यौं, जुन खेल आज भयवादमा देश सुब्बाले अझ व्यापक रूपमा व्याख्या गर्दै हुनुहुन्छ, हामी सपनाका पछि दौडिएकाहरूलाई भयको जगत् बुझाउँदै हुनुहुन्छ । मुलुकमा हत्या, हिंसा, आतङ्क, भय, त्रास, डरले प्रभाव जमाइरहेको अवस्थामा समसामयिक नेपाली साहित्यमा पनि तेही कुराहरूका बिम्बहरू निर्मित छन् । आज देश सुब्बाज्यूले यो भयलाई सैद्घान्तिकीकरण गरेर महान् कार्य सम्पन्न गर्नुभएको छ । यर्सथ, मलाई लाग्छ नेपाली समालोचनामा भयवादीय समालोचनाको आफ्नै महत्त्व हुनेछ र भयवादीय साहित्यको आफ्नै मूल्य हुनेछ । मानवसंसारको निर्माण भएदेखि नै भय हाम्रो अभिन्न अङ्ग रहँदै आइरहेको छ र यो मानवसंसारको अन्त्यतक रहिरहने छ । देश सुब्बाको भयवाद यसकारण पनि नयाँ नेपाली साहित्यको चिन्तनव्यवस्थामा कोसेढुङ्गा साबित हुनेछ भन्नेमा विश्वस्त हुन सकिन्छ किनभने नेपाली साहित्यलाई भयवादीय समालोचनाले व्याख्या-विश्लेषण गर्दा हाम्रो सोच र लेखन परम्परामा गम्भीरता तथा गहिराइको आविष्कार हुनथालेको छ र यो भनेको नेपाली साहित्यको आकाशगङ्गामा अर्को आकाशगङ्गा फेला पार्नु हो । जीवन र जगत्लाई हेर्ने अनेक दृष्टिकोणहरूमा भयवाद (fearism) पनि प्रचलित दृष्टिकोण रहेछ, नेपाली साहित्यमा यसको प्रयोग/प्रकट गर्ने सिद्घान्तकार देश सुब्बाको लगनशीलता अर्चना योग्य छ ।
नेपाली साहित्यको निर्माण गर्दा वैचारिक अनेकानेक, सांस्कृतिक वैविध्य, नश्लीयबोध या चेतना, कवित्व निस्सीमता र सृजनात्मक निण्र्यलाई सिर्जनातत्वका रूपमा र्सशर्त ग्रहण गर्दै साहित्य बनाउनुपर्ने आग्रह या अभियानको महत्त्व समसामयिक नेपाली साहित्य तथा सामाजिकतामा अरू बढेर गएको केही समययताको साहित्यिक, राजनीतिक, सामाजिक तथा सांस्कृतिक क्रियाकला र गतिविधिबाट थाहा लाग्छ । नेपाली साहित्यमा लामो समयदेखि ब्राम्हणवादी या हिन्दूवादी अख्तियारले अड्डा जमाएर आइरहेको अवस्थामा अन्य जाति या धर्मबाट सिर्जित लेखन किनारातिर धकेलिनु केन्द्रीय या एकात्मक विचारपद्घतिको मूलभूत चरित्र हो पहिचान गरिकन हरेक प्रकारको केन्द्रीयतालाई ध्वस्त पार्दै बहुकेन्द्रका विषयले अर्कै किसिमको सन्तुलन तय गर्नु सृजनशीलहरूको आधारभूत उद्देश्य बन्यो जसअनुसार पछिल्लो समयमा नेपाली साहित्यको परिदृश्यमा विविध साहित्यिक मान्यता र धारणाहरूको आवश्यकताअनुरूप अकल्पनीय र सृजनात्मक उद्भव र विकास भइरहेको देखिन्छ । यो चेतनाको गति हो जसले भनिरहेको छ नेपाल भौगोलिक रूपले मात्रै होइन सामाजिक र सांस्कृतिक रूपले पनि उत्तिकै विविधतापूण् छ । र, यो विविधताले बनेको राष्ट्रमा किसिमहरूको अस्तित्वको ख्याल नगरिकन एउटै जाति या नश्ललाई अनुसरण गरिरहनुपर्छ भन्ने जरुरी छैन । अथवा, कुनै यौटा जाति या नश्ल विशेषले अन्य विविध जाति या नश्लहरूलाई जबरजस्ती या कुटनीतिक पाराले दमन गर्ने नियतले साहित्य प्रकाशन गर्दछ भने त्यो कदापि स्वीकार्य हुने छैन । यसरी साहित्यमा विचार या जीवनहरूको विविधता लेखौं, विविध जगत्हरूलाई पाठमा उतारौं- भनियो, भने पुरातन नेपाली साहित्यलाई पुनर्मूल्याङ्कन गरेर तिहाँ राष्ट्र या जातिको विविधता कता छुटेछ - इतिहासमा कसरी एकथरी नेपालीहरू शासक या सुसभ्य या सुसंस्कृत जातिका रूपमा छाएछन् र अर्काथरी नेपालीहरू आदिवासी-जनजाति या दलित या दमित या उपेक्षित या उत्पीडित जातिका रूपमा दबिएछन् - खोजौँ पनि भनियो । नेपाली साहित्यमा पनि किनारातिरको आवाज बुलन्द रूपमा सुनिदैछ, नेपाली समालोचना पनि इथ्नीक् क्रिटिसिजम् (black art/literature/movement, African American criticism, organic literature, race and ethnic studies –-झैँ) तर्फबढिरहेको छ । यो प्रक्रिया अर्को केन्द्रको निर्माण नभएर केन्द्ररहीतताको निर्माण हो जहाँ उत्पीडन र शोषणको अन्त्य हुन्छ, सम्पूण् मानिसहरूको सम्मान हुन्छ । जातीय या नश्लीय आधारबाट विश्लेषण गर्ने हो भने देश सुब्बाकृत भयवाद जिनोसाइड (genocide) जिनोसाइडको परम्परागत अर्थ जातिहत्या हो । हिटलरको ग्याँसचेम्बर, पोलपोटको मृत्युभूमि, रूवान्डाको आद्यजातिहरूको हत्या, न्डोनेशियन सरकारको पूर्वी तिमोरवासीहरूमाथिको दमन यसका केही उदाहरणहरू हुन् । आज जिनोसाइडलाई व्यापक अर्थमा लिने गरिन्छ । यदि राज्यले कुनै जातिको उन्नति र प्रगतिमा प्रत्यक्ष या परोक्ष रूपमा बाधा पुर्‍याउँछ भने यसलाई पनि जिनोसाइडकै अर्थमा बुझिन्छ ।) को भय पनि हुनसक्ला अथवा आदिवासीहरू -राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक, भाषिक रूपमा) समूल लोप हुँदैछन् भन्ने भय पनि हुनसक्ला । यो कुरा उहाँको उपन्यास आदिवासीबाट प्रष्ट हुनेछ नै, जहाँ आदिवासीका मिथक तथा जीवनशैलीलाई विश्लेषणात्मक ढङ्गले बुनिएको छ । साहित्य, कला तथा सङ्गीतमा आदिवासीहरूको जीवन र जगत् आउनुपर्दछ । लिम्बू समाजमा च्याब्रुङ बज्दछ र यसको आवाज लिम्बूजातिको जीवनभरि व्याप्त हुन्छ । आधुनिक सङ्गीतका नाममा ड्रम बजाउँछौँ तर च्याब्रुङ बिर्सिरहेका छौँ । च्याब्रुङ लोप हुनु भनेको लिम्बू समाजबाट सङ्गीत लोप हुनु हो । यर्सथ प्रतेकले आ-आफ्नो समाजलाई सङ्गीतमा, कलामा र साहित्यमा जोगाउनुपर्छ । जसरी नेपाली सङ्गीतमा मादल, तबेला, कङ्गो, ड्रमहरू बजिरहेका छन् तेसरी नै च्याब्रुङलगायत अन्य लोकबाजाहरू पनि समान रूपमा बजोस् । यो भनेको पक्कै नयाँ नेपाल निर्माणलाई आवश्यक समावेशी लोकतान्त्रिकीकरणको सुन्दर नमूना हो । हरेक थोक या पक्षहरूमा यसप्रकारको समावेशी संरचनालाई लागू गर्ने हो भने नेपाली समाजमा दङ्गाफसाद मच्चाइरहेका सम्पूण् द्वन्द्वहरू समाप्त हुनेछन् । प्रचलित नेपाली साहित्यमा यो धारणालाई उत्थान गर्दै पान्थरबाट सिर्जनशील उत्तरवर्तीका नाममा थाम्सुहाङ पुष्प सुब्बा, भवानी तावा, सगुन सुसारा, समिरलगायत अन्य स्रष्टाहरू आइरहेका छन् भने काठमाडौँबाट विषेश रङ्गवाद र हङकङबाट भयवादले नेपाली समाजको जरा खोज्ने कार्य गर्दैछ । यी वाद या आन्दोलनहरूको समानता भनेको राज्यसत्ताले छेउकिनारामा पारेको जीवन र जगत्को लेखन गर्नु र वैश्विक चिन्तनव्यवस्थातिर अग्रसर हुनु देखिन्छ । शैली र शिल्पको प्रयोगलाई पनि यी आन्दोलनहरूले महत्त्व दिएका छन् । आफू र आफ्नो लेखन प्रचलित या तथाकथित मूलधारको साहित्यसित स्वभावैले नमिल्दा आदिवासी-जनजाति कवि-लेखकहरूका रचनाहरू स्वतः कुनै आन्दोलनद्वारा अभ्रि्रेरित देखिँदोरहेछ । अथवा, उनीहरूले कुनै आग्रह-पर्ूवाग्रहबिना आफ्नो जीवन र जगत्जस्ताको तस्तै लेख्दा पनि नेपाली साहित्यमा त्यो आन्दोलन हुँदोरहेछ, विचलन हुँदोरहेछ, व्रि्रोह र अराजकता हुँदोरहेछ, वादै पनि हुँदोरहेछ । नेपाली साहित्यका मूर्धन्य विद्वान् हरू अथवा राज्यसंयन्त्रका अभियन्ताहरूले यो स्थितिसित सम्बद्घ स्रष्टाहरूको सिर्जनाशक्तिलाई कसरी वाङ्मयमा उपयोग गर्ने हुन् - भयवाद थाहा पाउन थोरै रङ्गवादलाई जाँच्न जरुरी छ । होटेल अर्किड काठमाडौँमा घोषणा गरिएको विशेष रङ्गवाद आंशिक आदर्शवाद (partial idealism) हो नामैले, सिद्घान्तले र केही रचनाले । कुनै पनि भौतिक वस्तु हाम्रो समक्ष उपस्थित हुने तार्त्पर्यसित आंशिक आदर्शवादको साइनो हुन्छ । वस्तुको रङ्ग तेही हो । अझ उता रङ्ग, स्वाद, ध्वनि र गन्ध वस्तुको दोश्रो विशेषता र वजन, परिमाण, प्रसरण प्रथम विशेषता । वस्तुको दोश्रो विशेषता जगत्जन्य हो भने प्रथम विशेषता मनजन्य हो । कुनै पनि वस्तुको रङ्ग आँखाले गोचरणीय हुन्छ तर वजन गोचरणीय हुँदैन, त्यो भौतिकशास्त्रमा गएर मापन गरिन्छ र त्यो तथ्याङ्क मनमा हुन्छ अथवा यति वजन होला भन्ने अनुमान मनमा उत्पन्न हुन्छ । बाहिरको देख्य जगत् रङ्ग र यही देख्य जगत्को कुरा रङ्गवाद । अब यसोले रङ्गैरङ्ग रङ्गैरङ्गै भन्नु कत्तिको मज्जा आउला जबकी सम्भावनाहरू अरू पनि देखिए- जस्तो स्वादैस्वाद, ध्वनि नै ध्वनि, गन्धैगन्ध । अथवा, संसारलाई रङ्गले नहेरेर स्वादले हेरौँ त । एएक किसिमको स्वाद थाहा लाग्छ ज्रि्रोलाई । तेसरी थाहा पाउनुलाई माध्यम पनि छ । रङ्गलाई आँखा, ध्वनिलाई कान, गन्धलाई नाक । तर, यी सप्पै कुरालाई मस्तिष्कले नियन्त्रण गर्दछ । अघिको तेस्रो आयाम वस्तुको लम्बाइ, चौडाइ र उचाइ -गहिराइ)तिरको भयो । वस्तुको यो विषेशता मनजन्य हो । तेस्रो आयामले तेसो र जम्मै कुरा बुद्धिलाई जिम्मा लाएका छन्, लीलासम्म आइपुग्दा बुद्धि मात्रै होइन रहेछ भन्दैछन् । कतै रङ्गवादले वस्तुको स्वाद, ध्वनि, गन्ध, वजन, परिमाण, प्रसरणलाई त बिर्सदै छैन - बैरागी काइँलाको घरबाट बातमारी फर्किंदा ढिलो भई गौशालाको कुनै बासमा राति अबेर कवि धमेन्द्रविक्रम नेम्बाङले रङ्गैरङ्ग रङ्गैरङ्ग छ दाजु चारैतिर, भित्ता कोट्याउनुस् अर्को रङ्ग निस्किन्छ भन्दा सोधेको थिएँ मानिसले फेर्ने सासको रङ्ग नि कस्तो हुन्छ - उनले सासको रङ्ग हुँदैन पनि भनेनन् हुन्छ पनि भनेनन् । गम्भीर भई उल्टै सोधे- हाऊ दाजु सासको रङ्ग कस्तो हुन्छ त - मैले रङ्गवादी कविजीलाई भनेँ- हरियो । अझै गम्भीर भई उनले सोधे- कसरी - मैले भनेँ- सास भनेको जीवन हो, तेसैले जीवनलाई हामी हरियो रङ्गले व्यक्त गरौँ । सामान्य रूखमा जीवन हुँदासम्म हरियो हुन्छ तिहीँबाट हरियो पैँचो मागौँ ।
यतिबेला सोच्दछु कला भनेको तेसो र नै विज्ञानभन्दा भिन्न भएको होला । हामी बिम्ब र प्रतीकहरूमा रमाउँछौँ । सङ्केतहरूले बोल्न खोज्छौँ । आखिर सप्पै नेपाली साहित्यिक आन्दोलनहरूको अभीष्ट पनि एउटै हो, कि पुरातनपथविरुद्घको व्रि्रोह र अराजकतामा नै यस खाले आन्दोलन, अभियान या आग्रहहरू जन्मिन्छन् । कार्यशैली र सोच्ने ढङ्ग भिन्नै होला तर आन्दोलनको यौटै अर्थ हुन्छ नयाँ जिनिसको माग । फेरि साहित्यिक आन्दोलनहरू १९ दिनका पनि हुँदैनन्, हज्जारौँ दिनका हुन्छन्, हज्जारौँ सालका हुन्छन् र हरेक आन्दोलनहरू एकआपसमा सायुज्यसमेत राख्तछन् । तर, एउटा कुराचाहिँ यो समयतक बुझ्न सकिरहेको छुइनँ, के साहित्यिक हुनलाई पार्ट प्रवेश अनिवार्य छ - नश्लीयबोध त जीवन र जगत्को चरित्र, गुण र विषेशता हो । तेसो र रङ्ग पनि नश्ल हो, भय पनि नश्ल हो । यही नश्ललाई ज्याक डेरिडाले फरकता भने, यही नश्ललाई बैरागी-वल्लभ-इन्द्रले तेस्रो आयाम भने । यही नश्ललाई तारानाथहरूले झर्र्रो भने । यही नश्ललाई Þयुगो बलहरूले दादा भने, यही नश्ललाई पmाइडले सुपरइगो भने । यही नश्ललाई र्सार्त्रले अस्तित्व भने । यही नश्ललाई मार्क्सले साम्यवाद भने । यही नश्ललाई बाकुनिनले अराजकता भने । यी आ-आफ्ना हेराइहरू हुन्, सप्पैलाई सत्य मानिदिन सकिन्छ । सप्पै वादहरू तर्कले उभिन्छन् । भयवाद पनि तर्क गरिरहेछ । यसो र भयवाद जीवनतिरको समीपतामा रमाउन खोजेको लाग्छ । रङ देख्नुलाई प्रकाश जरुरी छ भने भय जाग्नुलाई चेतना । अथवा, रङ बाहिरी कुरो भयो भने भय भित्री कुरो । यी चिन्तनहरूले राम्रा सिर्जनाहरू जन्माइरहेका छन् । अध्यात्मवादतिर जान खोज्छ भयवाद कहिलेकाहीँ । सम्झनामा बुद्घ प्रकट हुन्छन् । बौर्द्घदर्शनको मूल जरा दुःख हो । दुःखबाट मुक्ति कसरी प्राप्त गर्ने - सोच्दा बौर्द्घदर्शन जन्म्यो । जन्मनु, सड्नु, रोग लाग्नु र मर्नु नै दुःखका कारण माने बुद्घले । र, दया, माया, करुणा, क्षमाका कुराहरू गरे । क्रोध, भय, इख, इबीका कुराहरू गरे । दया, माया, करुणा, क्षमा, क्रोध, भय, रिस, राग यी सप्पै भित्री कुराहरू हुन् । अन्तस्करणका कुराहरू हुन् । मानवभित्र रहने भयको तन्तु चलाएर देश सुब्बाले जे सिर्जना गरिराख्नु भएको छ त्यो सिर्जना होइन, महासिर्जना हो । भयवादीहरू मानवसंसारको निर्माण भयले भएको मान्छन् । भयबिना मानवसंसार असम्भव हुन्छ भन्छन् । दयावादीहरू भन्छन् दयाबिना मानवसंसार रहँदैन । तेसोरी नै मायावादीहरू मायावाद लिएर आउँछन् । विचार यही प्रक्रममा करुणावाद, क्षमावाद, क्रोधवाद, रिसवाद, रागवाद, इखवाद आदि-इत्यादि हुँदै जान्छ । जेहोस् यो विचारप्रणाली या सोचपद्घतिकै सापेक्षमा भयवादको पनि उठान भएको लाग्छ । भयकै अर्थमा प्रयोग हुने अरू शब्दमा त्रास, डर, फोयिबा आदि-इत्यादि र्सवसुलभ छन् । भयवादमा देश सुब्बा एक किसिमको मनोवैज्ञानिक युद्घमा हुनुहुन्छ ।
भयको ठूलो रूप आतङ्क हो । भय जब समूहमा ठूलो प्रभाव बोकेर बाहिर निस्किन्छ त्यो आतङ्क हुन्छ । एक्काइसौँ शताब्दीको सुरुआतमै विश्वमाथि आतङ्कवादले आफ्नो सशक्त उपस्थितिको विगुल फुक्यो । ९/११ मा विश्वकै एकमात्र महाशक्ति अमेरिकालाई अल काइदाले आतङ्कीत बनायो, भयभीत बनायो । यही कुरालाई करङको हिरासतमा व्यक्त गरियो- ट्वीन्स टावर र पेन्टागनमाथिको आत्मघाती आक्रमणले आजको मान्छेलाई शक्तिको एकत्व स्वीकार्य नभएको पनि उजागर भएको छ । तेतिबेला यो घटनालाई अर्कै कोणबाट बुझ्ने प्रयत्न गरिएछ । अमेरिकी साम्राज्यवादले विश्वलाई एउटै रङ्गमा चोबल्ने महत्त्वाकाङ्क्षाविरुद्घको कारवाही बुझिएछ । पान्थरमा केही सृजनशील साथीहरूले प्रश्न पनि गर्नुभएको थियो( ट्वीन्स टावरको आक्रमणलाई कसरी व्याख्या गर्नुहुन्छ - प्रश्न गम्भीर थियो । गम्भीर भएरै उत्तर दिने प्रयत्न भयो ट्वीन्स टावरको आक्रमणमा जति पनि मानिसहरूको ज्यान गयो या जति पनि मानिसहरू शहीद हुनुभयो या जति पनि मानिसहरूले वीरगति प्राप्त गर्नुभयो तेर्सअर्थमा अल काइदाको कारवाही गलत देखिरहेको छु तर अमेरिकी साम्राज्यवाद या दादागिरीलाई शानदार पाठ पढाएकोमा चाहिँ लादेनलाई धन्यवाद दिन्छु । तेतिबेला अमेरिकी साम्राज्यवादविरुद्घको लडाइँ लागेको थियो अल काइदाको लडाइँ । आज देश सुब्बाले भयवाद भन्न थालेपछि अमेरिका र अल काइदालाई हेर्ने दृष्टिकोणहरूमा भय-सिद्घान्त (fear theory) पनि थप्न थालेको छु अथवा आतङ्कवाद (terrorism)को दृष्टिकोणबाट पनि मानवसंसारलाई हेर्न लागेको छु । देश सुब्बाले भयवादको अवधारणापत्रमा आतङ्कवादका विषयमा के लेख्नुभएको छ थाहा छैन । तर, उहाँले जीवन र जगत्लाई भयहरूको खेल भन्नुहुन्छ । मलाई यो नै सप्पैभन्दा रोचक लाग्ने गर्छ ।
खेल सिद्घान्त (game theory)पनि खूबै प्रचलित सिद्घान्त हो । सर्वप्रथम अर्थशास्त्रमा यो सिद्घान्त देखापर्‍यो । तेसपछि समाजशास्त्रहरूमा यसले आफ्नो प्रभाव बढायो । यसलाई साहित्यमा ज्याक डेरिडाले भित्र्याए । नेपाली साहित्यमा इन्द्रबहादुर राईले लीलाका रूपमा भित्र्याउनुभयो, आग्रह पनि गर्नुभएको छ उहाँले- आऊ बाँचौँ भन्ने खेल । कृष्ण धराबासीले फैलाउनुभो लीला लेखनको खेल । देशजीले आग्रह सुन्नुभएको लाग्छ । कि उहाँले सीधै डेरिडासित सल्लाह गर्नुभएको हो किनभने यता इन्द्रबहादुरभन्दा डेरिडा नजिक छन् । अथवा, इन्द्रबहादुर राई जति नजिक छन् तेत्ति नै ज्याक डेरिडा । दुवैसित सल्लाह गरेर भयको खेल आरम्भ गर्नुभएको हो कि त । अक्टोबर ३१ तारिख क्रिश्चियनहरूको यौटा पर्व हुन्छ हेलोवीन -यो पर्व अमेरिकाको कुनै सानो गाउँबाट सुरु भएको विश्वास मानिन्छ र भ्यालेन्टाइन डेजस्तै यो पर्व पनि विश्वजनीन् भइरहेको पाइन्छ) जुन पर्वमा डरावनी भेसमा भूतप्रेतको अभिनय गरी एक-अर्कालाई भयभीत बनाउने गरिन्छ । पूर्वीय समाजमा भयको महत्त्वपण् स्थान छ नै, विशेष पश्चिमा समाजमा भयको व्यवस्थित अध्ययन, अनुसन्धान र प्रयोग गर्ने गरिएको देखिन्छ । भयको सैद्घान्तिकपक्षसितै व्यवहारिकपक्ष पनि विकसित भइरहेको छ उता । तेसो र उनीहरूको साहित्य तथा कलामा भयले गहिरो प्रभाव पारेको छ । भयप्रद कथाहरू, भयप्रद उपन्यासहरू, भयप्रद सिनेमाहरू उता थुप्रै लेखिएका छन्, बनाइएका छन् । बोक्सी र डायनहरू उता पनि छन् । यताका भन्दा अरू भयप्रद छन् । चमेरा र ड्राकूलाका अमर कहानीहरू छन् । रङ्गीन आविष्कारमा मैले वीभत्स या भयप्रद (horrible) दुइ कविताहरू लेख्ने प्रयत्न गरेको छु । तेतिबेला अनेक प्रयोग गरियो( विलयन (fusion) कविताहरू पनि सोचियो । ढुङ्गामुढामा यो प्रयोग पनि बनाइयो । तेतिबेला उपेन्द्र र राजनसित भयको विषयमा विमर्श हुन्थ्यो । सारा पत्रपत्रिकाहरूमा माओवादी जनयुद्घका प्रभावहरू छापिन्थे । राष्ट्रमा एककिसिमको भय व्याप्त थियो, त्यो भय आज पनि कुनै न कुनै रूपमा जीवित छ । राजनले तेतिबेलै अनिदमा भन्ने भयप्रदत्त कविता लेखेका हुन् । हामी तेतिबेला मुलुक र आम नागरिकको स्थितिलाई भयबोध भन्थ्यौँ । देश सुब्बाको भय निरपेक्ष यतिबेला सम्झिन्छु । ढुङ्गामुढाको मनमा फेरि अर्को बिम्ब राखेँ( ढिकीसारमा बिरालो उप्रिदा दाउरा ढलेको आवाजले आङ सिरिङ हुने साँझ । अर्को कविता पनि लेखेँ मायाको लिफा जहाँ एन्थ्रेक्सको पाउडरसित युनिभर्सल भयबोध गरियो । हत्या, हिंसा, आतङ्क, त्रास भनूँ या भयवाद भनूँ हाम्रो मुलुकले जनयुद्घको क्रममा भोगेको यथार्थ हो यो । अहिले माओ जेदोङका अनुयायीहरू हतियार बुझाएर शान्ति स्थापनामा प्रयत्नशील छन् तर जनयुद्घ रोकिएको छैन । मुलुक हिजोको भन्दा पनि ठूलो भयमण्डलतिर जाकिँदै छ । तर, एकदिन यस्तो दिन आउनसक्छ जुन दिन मानिसहरूले एक-अर्काबाट भयभीत हुन छाड्नेछन् अथवा भयको प्रतिकारमा ओर्लिनेछन् । तब अर्को भयखेल सुरु हुन्छ । सङ्घीय राज्य स्थापनाको माग राख्दै शान्तिपूण् आन्दोलनमा जुटेका आदिवासी-जनजातिहरूलाई पनि जब लाग्नेछ हतियारले मात्रै आफ्नो अस्तित्व बचाउन सकिनेछ तब भयको रूप के होला - बिरालोलाई झ्यालढोका थुनेर कुट्नु हुन्न, विकल्पहरू सधैँ होस् । तेसो र देश सुब्बाको उपन्यास आदिवासी शान्तिपूण् आन्दोलनको दस्तावेज हो अथवा संभावित दुघटनाको आँकलन अथवा सिङ्गो भयवाद । डर लाग्यो भने आँखा चिम् गर्नू र भगवानलाई सम्झिनु ! यो धेरै-धेरै अगाडिदेखि चलिआएको मान्यता हो । यसबाट के थाहा लाग्छ भने डर या भयको विपरीत भगवान या ईश्वर छन् ईश्वरलाई केन्द्र मान्दा भय सीमान्तमा जान्छ । नित्सेले ईश्वरको मृत्यु घोषणा गरेपछि चिन्तनपरम्परामा धेरै परिवर्तनहरू आएका छन् ईश्वरलाई केन्द्र नमान्ने दर्शन र मान्यताहरूको विकास भइआएको छ । यसै सिलसिलामा डेरिडाले केन्द्ररहीतताको वकालत गरेका छन् । आजसम्म भयलाई नकारात्मक मानिआएको सत्ते हो । डर लाग्यो भने किन भगवान सम्झिनु या डर लाग्यो भने किन डराउनु - अथवा हामी किन भयको मात्रा कम गर्ने प्रयत्न गछौँ - के हामी निर्भय भई बाँच्न चाहन्छौँ - ईश्वरलाई मानिसहरूले सकारात्मक प्रतीकका रूपमा स्थापना गरेका छन् अतः यस मानेमा भय नकारात्मकता हो । डेरिडा भन्छन् नकारात्मकता(nagetivety) सित पनि खेल गर्नु सकिन्छ । यसो र अहिलेलाई भय किनारी र नकारात्मक रूपमा उपस्थित भएको छ । भय पनि उत्तिकै केन्द्र बन्नसक्छ र सकारात्मक हुनसक्छ भन्ने जिकिर देश सुब्बाको छ । तेसो र देश सुब्बाको भयवाद बुझ्नलाई ज्याक डेरिडाको विनिर्माणवाद पनि बुझ्नु आवश्यक छ । डेरिडा भन्छन्- भाषामा फरक जति हुन्छ तिहाँ फराक पनि हुन्छ । भाषा भनेकै फरकता र फराकताको खेल । बोली र लेखनमा बोलीलाई केन्द्रमा राखियो, बोली महत्त्वको भयो, बोली ईश्वरको बोली भयो । यसो हुँदा लेखन पर पर किनारातिरको देखियो या लेखनलाई सीमान्तमा पारियो । पश्चिमेली दर्शनको द्वैतवादले मानिरहेको भगवान शैतान, असलर खराब, उज्यालोर अँध्यारो, पुरुषर नारी आदि-इत्यादि दोहोरो पक्षहरूको धारणा सिर्जेर यौटा पक्षलाई केन्द्रतिर तान्ने र अर्को पक्षलाई किनारातिर धकेल्ने कार्यलाई पहिचान गरिकन डेरिडा भन्छन् यसप्रकारको विचारप्रणालीमा सधैँ एक पक्षले उत्पीडन खेप्छ । प्लेटो र रूसोहरूले भाषामा बोलीलाई केन्द्रीय मान्यता दिएर लेखनलाई किनारातिर राखे । उनीहरूको विचारमा बोली सक्कली हुन्छ किनभने बोल्ने व्यक्ति यस प्रक्रियामा उपस्थित हुन्छ । तेसले गर्दा बोली मानवको पहिलो ध्यान हो, लेखन कृतिम र अनुपस्थितिको रेखाङ्कन भएकोले उता किनारामा राखियो । डेरिडाले लेखन पनि केन्द्रमा आउन सक्ने तर्क दिएका छन् । उनी मान्छन् बोलीको लेख्य परम्परा नहुँदो हो त बोली आफैमा टुङ्गने हुन्थ्यो । भाषामा लेखनपरम्परा पनि भएकैले सयौँ वर्षघि लेखिएको कृति सयौँ वर्षछि पनि पढ्न सकिन्छ । तेसैले अख्तियारीले किनारामा राखेका प्रतेक चीजहरू सधैँका निम्ति किनाराका होइनन् । हामी जसलाई मूल या केन्द्रको थोक भन्छौँ र तेही अनुरूप आफ्नो विचारतन्तुलाई पनि तालिम दिन्छौँ । यसो गर्दा विश्वमा क्रिश्चियन धर्म नै मूल या केन्द्रको धर्म सोच्दछौँ तर जहाँ बौद्घ धर्मको बोलवाला छ तिहाँ क्रिश्चियन धर्म किनारातिर जान्छ । हिन्दू धर्मको बाहुल्यता भएको ठाउँमा बौद्घ धर्म पनि किनारातिरै फालिन्छ भने जहाँ किरात धर्मको वर्चश्व छ तिहाँ हिन्दू धर्म पनि किनारिन्छ । तर, यसो भनेर क्रिश्चियन धर्मको ठाउँमा मुस्लिम या जैन या बौद्घ धर्मलाई केन्द्रमा ल्याएर क्रिश्चियन धर्मलाई किनारामा लैजाने तर्क गर्न खोजिएको होइन । डेरिडा के भन्छन् भन्दा कुनै यौटा केन्द्रलाई भत्काएर अर्को केन्द्र बनाउनुपर्छ होइन बहुकेन्द्रको या केन्द्रहीनताको स्थापना गर्नुपर्छ जसले गर्दा सदियौंदेखि किनारामा रहेका मानवीय पक्षहरूले विकास गर्ने अवसर पाउनेछन् । जस्तो कि केन्द्रमा पुरुषले अधिपत्य जमाएर नारीलाई अवसर नदिई किनारातिर धकेल्दा आज नारीको विकास कम हुन गयो । यसले गर्दा आजको विश्व एकलकाँटे भएको छ अथवा पुरुषको मात्रै विश्वमा हालीमुहाली छ । यदि पुरुषको केन्द्र भत्कायौँ भने तिहाँ नारीको केन्द्र बन्ने जस्तो लाग्छ । तर वास्तवमा न नारीको केन्द्र न पुरुषको । समान रूपमा दुवै थरिका मानिसहरूले विश्वमा शासन गर्नेछन् । नारी र पुरुषबाहेक हिजोआज हक खोजिरहेको मानवजाति भनेको गे/लेस्बियन अथवा समलिङ्गी र बहुलिङ्गीहरूले पनि हो । हिजोआज मानवजातिको मात्रै होइन पशुपंक्षी र रूखविरूवाको पनि हकअधिकारका कुराहरू अभ्यास गरिँदैछ । नेपालमा आदिवासी-जनजातिलगायत अन्य धेरै जातिहरूलाई राज्यले किनारातिर धकेलिदिएको छ जसले गर्दा मुलुकको जनसङ्ख्याको ठूलो भागमा व्रि्रोह र अराजकताको लहर देखिएको छ भने मुलुकमै एकथरी मानिसहरूको वर्ग भने पशुपंक्षी र रूखपातको हकअधिकारका कुराहरू गर्नसक्ने हैसियतमा पुगिसकेका छन् ।
भयको खेलमा भय केन्द्रीय भयो । तेसो र तेस्रो आयाम, लीला लेखन, सृजनशील अराजकता, विषेश रङ्गवाद, सृजनशील उत्तरवर्ती आदि-इत्यादिहरू किनारामा जाने भए । तर डेरिडाको विनिर्माणवादको प्रयोजन यौटा सीमान्तवर्तीलाई केन्द्रमा स्थापना गरेर केन्द्रमा रहेको पक्षलाई सीमान्तवर्ती बनाउनु होइन । उनको लक्ष्य भनेको केन्द्ररहीत मानवसंसारको निर्माण । केन्द्ररहीत साहित्यको लेखन । यसप्रकारको लेखनलाई उनले ब्चअजभ-धचष्तष्लन कथेका छन् । उनको अफ् ग्रामाटोलजीलाई यसप्रकारको केन्द्रहीन लेखनको विज्ञान मानिन्छ । वैचारिक अनेकानेक र सांस्कृतिक वैविध्य केन्द्ररहीतताकै अभ्यास हो, निर्माण हो । एउटै विचार र संस्कृतिले मानवजीवनलाई बाध्नु सकिँदैन, इतिहासमा धेरैले एक विश्व, एक भाषा, एक संस्कृति, एक नश्ल आदि-इत्यादिको अभ्यास गरे तर सफल भएनन् । मात्र लाखौंलाख मानिसहरूको ज्यान गयो । हिटलरले आफ्नो नश्लको आयु आउने दिनमा बाह्र सय वर्षहुने हास्यास्पद दाबीसमेत गरे । त्यो दाबीले नरसंहारको रूप लियो । तेसो र वर्ण्श्रमी विचारधारा र हिन्दू संस्कृति मात्रै लाद्न खोज्ने नेपालको राज्यसत्ता आज विश्वको नयाँ राजनीतिक माहौलमा पुरातनपन्थी देखिनु स्वाभाविक छ । हामी भनिरहेका छौँ नेपालको विचारधारा निर्माण गर्ने क्रममा हिन्दूशास्त्रबाट पनि कुरा मागौं, किरातशास्त्रबाट पनि कुरा मागौं, बौर्द्घदर्शनबाट पनि कुरा मागौं, अरू जति पनि विचारसमुदायहरू छन् ती सप्पैहरूबाट सुन्दर-सुन्दर विचारहरू मागौँ र नेपालको साझा विचारधारा निर्माण गरौँ । भयवादबाट आइरहेको सुन्दर विचारलाई पनि अपनाऔँ । हामीले विध्वंसात्मक अराजकतालाई सृजनात्मक बनाउने बल गर्‍यौँ । राज्य, कानुन र सम्पत्तिको इन्कार नगरेर असल राज्य, समान कानुन र न्यायसङ्गत सम्पत्तिको हकको कुरा गर्‍यौँ । खराब राज्य, कानुन र सम्पत्तिको विरोध गर्‍यौँ । देश सुब्बाले भन्नुभए झैँ यदी सृजनशील अराजकता अस्तित्व विलोप हुने भयले गरिएको उद्घोष हो भने पनि खराब राज्यमा असल नागरिक विलोप हुने भयले गरिएको उद्घोष हो । बहुलता नै मानवसंसारको सत्य हो । यो सत्यमा टेकेर साहित्य लेख्ने आग्रह भयो । तेसो र बहुलता र विविधतालाई कवितामा लेख्यौँ, आदिवासीका भोगाइहरू लेख्यौं, नेपालीका भोगाइहरू लेख्यौँ । साँच्चै भन्नुपर्दा हामीले मानव जातिका भोगाइहरू लेख्यौँ । संरचना, शैली र शिल्पमा पनि बहुलता र विविधता थप्ने प्रयत्न गर्‍यौँ । भयवादले पनि नेपाली साहित्यमा आफ्नै किसिमको तरिका हुल्दैछ, सुरुमा कता केके नमिलेको झैँ लागे पनि नयाँ लेखन प्रविधि कालान्तरमा मनमोहक हुन्छ नै ।
विनिर्माणवादको अपव्याख्या र अतिव्याख्या धेरै भइआएको छ नेपाली साहित्यमा । बुटपालिस आन्दोलनका शिखर कवि शैलेन्द्र साकारज्यूले भयवादको अन्तर्त्रिmया कार्यक्रममा बोल्नुभएको छ- नेपालमा निर्माण नै भएको छैन, केको विनिर्माण - झट्ट सुन्दा ठीकै हो जस्तो लाग्छ । तर, डेरिडाका अनुसार विनिर्माण भनेको केन्द्रलाई भत्काउनु र केन्द्ररहीत अवस्थाको निर्माण गर्नु हो । भोगेअनुसार नेपालको सर्न्दर्भमा हिन्दूधर्म र संस्कृति केन्द्रमा बसेको लामो भएको छ । तर, नेपालमा हिन्दूधर्म र संस्कृति मात्रै छैनन् । डेरिडा भन्छन् केन्द्रले सधैँ शोषण गर्छ । ०४७ सालको संविधानले नेपाललाई हिन्दूराज्य घोषणा गर्‍यो । हिन्दूइतर नागरिकहरू सीमान्ततिर लखेटिए । अन्तरिम संविधानले धर्मनिरपेक्ष भन्यो तर व्यवहारमा उत्रेन राज्य । जनआन्दोलन ०६२-६३ पछि पनि हामीबाट चिप्लिँदै गइरहेको छ मानिस हुनुको सत्य । नेपालमा जाति या नश्लको कुरा गर्दा क्षेत्री बाहुन/खसहरू केन्द्रीय जाति या नश्लको रूपमा विराजमान छन् । उनीहरूको जनसङ्ख्या प्रतिशत तीस प्रतिशत -सरकारी तथ्याङ्कअनुसार) हो । बाँकी सत्तरी प्रतिशत भनेका आदिवासी-जनजाति, दलित र मधेसीहरू हुन् । तीस प्रतिशतले सत्तरी प्रतिशतलाई केन्द्रमा आउन दिइरहेको छैन । सीमान्तको सत्तरी प्रतिशत केन्द्रमा आएर केन्द्रको तीस प्रतिशतलाई सीमान्तवर्ती बनाउनु विनिर्माणवाद होइन । सय प्रतिशतमा सय प्रतिशतले नै समन्वयको ढाँचामा रहनु विनिर्माणवाद हो । केन्द्रमा रहेकोलाई फ्याकेर सीमान्तवर्ती केन्द्रमा बस्दा फेरि हिजोकै शोषण रहिरहन्छ । शोषणको अन्त्यसित हाम्रो चासो हो । तेसैले समन्वय र सहमति मान्यौँ हामीले । हिजोआज त समानुपातिक र समावेशीका सैद्घान्तिक र व्यवहारिक तर्कहरू गरिँदैछन् । डेरिडाले भनेझैँ केन्द्ररहीतताकै अवस्थातिर हाम्रो मुलुक अघि बढ्न खोजिरहेको छ । तेसो र भत्काउनु भनेको केन्द्रलाई हो तर अर्को केन्द्र निर्माणका निम्ति होइन ।
आदिवासी उपन्यासमा देश सुब्बाले भयको प्रयोग बनाएका छन् । कथामा सिद्घान्तहरू जिप्टिएका लाग्छन् । मिथक र प्रतीकहरू, विश्वास र बिम्बहरूको घना बस्तीभित्र आगन्तुकहरू हराउन सक्ने सम्भावना देखिन्छ । अर्कोतर्फअन्वेषणमा रमाउने पर्यटकहरूका निम्ति आदिवासी उपन्यास जुरासिक पार्क नै हो जहाँ डायोनासोरसित साक्षात्कार गर्नु सकिन्छ अथवा पाठकहरूले इथ्नोक्रिटिसिजम्, मनोविश्लेषण, नवसंरचनावाद हुँदैहुँदै उत्तरआधुनिकताले प्रकट गरेको हाइपररियालिटीलाई पनि स्वागत गर्नेछन् ।
अन्तमा, हङकङेली लेखकहरूको तर्फाट देशजीको भयवादलाई र्समर्थन गर्दै आदिवासी उपन्यासको सफलताको शुभकामनासहित पैँचो माग्छु मित्र जोसेफको विचार ।

Fear always remains. A man may destroy everything within himself, love and hate and belief, and even doubt, but as long as he clings to life, he cannot destroy fear.
- Joseph Conrad
सृजनशील साहित्य समाज
३१ अक्टोबर, हङकङ, चीन

No comments: